‘हामी ३ भाई २’ बन्ने , अनमोल प्रदिप र पलका लागि कसरत गर्दे निर्माता

नेपाली सिनेमा क्षेत्रमा पनि पछिल्लो समय सफल पुराना फिल्मको सिक्वेल बन्ने क्रम बढ्दो छ । यसबीचमा १४ बर्ष अगाडी निर्माण भएको फिल्म हामी ३ भाई फिल्म सबैलाई यादै होला । यो फिल्म स्मरणिय छ कारण एक त यो सुपरहिट फिल्म अर्काेतिर राजेश हमाल , निखिल उप्रेती र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जस्ता स्टार कलाकारहरुले एकसाथ काम गरेको फिल्म ।रेखा थापा , झरना थापा र नन्दिता केसी नायिकाहरु रही गीतहरुसमेत चर्चित बनेको यस फिल्मलाई शिव रेग्मीले निर्देशन गरेका थिए भने रमेश त्वायना र बसन्त कुमार श्रेष्ठले लगानी गरेका थिए ।

अब यही सुपरहिट फिल्म हामी ३ भाईको पनि सिक्वेल बन्ने भएको छ । निर्माता रमेशले हामी ३ भाई २ बनाउँने घोषणा गर्दे यतिबेलाका चर्चित नायकहरुलाई फिल्ममा लिने छलफल चलिरहेको बताए ।उनका अनुसार फिल्ममा अनमोल केसी , प्रदिप खड्का र पल शाहलाई लिनको लागि छलफल भईरहेको बताए । हाल सुश्री सम्पत्ति लिएर दर्शकमाझ आएका उनले भने “हामी ३ भाई २ को तयारीमा छौँ । त्यतीबेला पनि राजेश , निखिल र श्रीकृष्ण जस्ता नायक लिएका थियौ ।

अहिलेका चर्चित नायकहरु अनमोल , प्रदिप र पललाई लिएर हामी अब सिक्वेल तयारीको जमर्काे गरिरहेका छौँ” ।यदि सब ठिकठाक रहेको खण्डमा उनको योजना पुरा हुनेमा विश्वास उनले राखेका छन् । तर अनमोल , प्रदिप र पललाई एउटै फ्रेममा ल्याउँन सहज भने छैन । उनीहरुले राम्रो अफर आए एक अर्कासंग फिल्म खेल्न अस्वीकार नहुने बताउँदै आएका छन् तर उनीहरुबीचको स्टारडमको लडाईका कारण एउटै फ्रेममा उनीहरुलाई ल्याउँने कसरत असफल पनि नहोला भन्न सकिन्न ।किनकी त्यतीबेलाका राजेश र निखिलको जस्तो स्टारडमको लडाई अनमोल , प्रदिप र पलबीच छैन यो अलिक बढि नै छ ।

तर यदि यो प्रोजेक्ट सफल भएको खण्डमा भने दर्शकहरु पनि उत्साहित हुनेछन् भने यो फिल्मले पनि कुनै न कुनै रेर्कड राख्ने निश्चित छ । अब हेरौँ यी निर्माताको योजना कत्तिको सफल हुन्छ ।