क्रिस्टियानो रोनाल्डोको नाममा अर्को किर्तिमान

एजेन्सी । क्रिस्टियानो रोनाल्डो युरोपको शीर्ष ५ लिगमा चार सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । जेनोआबिरुद्ध १८ औँ मिनेटमा गोल गर्दै रोनाल्डोले सो किर्तिमान बनाएका हुन् ।

इटालियन लिगमा युभेन्टसका लागि उनको यो पाँचौँ गोल थियो । यसअघि उनले म्यान्चेस्टर युनाइटेडका लागि ८४ तथा रियल म्याड्रिडका लागि ३११ लिग गोल गरेका थिए । लियोनेल मेस्सीले बार्सिलोनाका लागि ३८९ लिग गोल गरेका छन् ।

खेलको १८ औँ मिनेटमा जोआ क्यासेलोको प्रहार रिबाउन्ड भएपछि त्यसलाई गोलमा परिणत गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यसअघि उनको प्रहार पोष्टमा लागेको थियो । यद्यपि, ड्यानियल बेसाले गोल गर्दै खेल बराबरी गरे ।

यो सिजन युभेन्टसले लिगमा अंक गुमाएको यो पहिलो पटक हो । युभेन्टसले खेलमा पूर्ण नियन्त्रण बनाएपनि जीतबाट बञ्चित रह्यो । खेलमा २१ पटक विपक्षीको पोष्टमा प्रहार गरे पनि तीन वटा मात्र लक्ष्यमा लागेको थियो, जुन सबै रोनाल्डोको थियो ।

रोनाल्डो एक्लैले विपक्षीको पोष्टमा कूल ११ प्रहार गरेका थिए ।