‘एक्सरसाइज’ बिहानभन्दा बेलुका गरेको राम्रो पुरा खबर पढ्नुहोस्

एजेन्सी । नियमित ‘एक्सरसाइज’ अर्थात शारीरिक व्यायाम स्वास्थ्यका लागि अत्यन्तै फाइदाकारी हुन्छ तर हालै गरिएको एक नयाँ अनुसन्धानमा शारीरिक व्यायामको समयले शरीर र स्वास्थ्यमा फरक प्रभाव पार्ने गरेको पत्ता लगाइएको छ।य सरी ‘एक्सरसाइज’ गर्ने समय सम्बन्धी प्रकाशित दुई अध्ययनहरुमा बिहानको समयमा भन्दा बेलुकीपख शारीरिक अभ्यास गर्दा बढी प्रभावकारी हुने निष्कर्ष निकालिएको छ । ‘सेल मेटाबोलिजम’ मा प्रकाशित दुईवटै जर्नलमा हाम्रो निद्रा चक्र वा शारीरिक घडीले शरीरको प्रस्तुतिमा ठूलो प्रभाव पार्न सक्ने दाबी गरिएको हो ।

त्यसैले पनि बिहान नभइ राति एक्सरसाइज गरेको बढी लाभदायक हुने बताइएको छ । पहिलो अध्ययनका लागि अनुसन्धान टोलीले पहिले त दिनको भिन्दाभिन्दै समयमा मुसालाई ट्रेडमिलमा दौडाएर यसको अध्ययन गरेका थिए । जसमा पाचन सम्बन्धी गतिविधिका लागि जिम्मेवार जीएमपी नामक मेटाबोलाइट रातिको समयमा व्यायाम गर्दा उच्च स्तरमा उत्पादन हुने गरेको पाइएको हो । यसरी सो तत्वको उत्पादनमा वृद्धि हुनुले अर्को दिनको शारीरिक गतिविधिमा सुधार ल्याउन मद्दत गर्ने गरेको बताइएको छ ।

यसपछि सो नतिजालाई पुनः पुष्टि गर्न १२ जना मानिसमाथि पनि अध्ययन गरिएको थियो र समान नतिजा प्राप्त गरेपछि नै वैज्ञानिकहरुले यसबारे स्पष्ट ठहर गरेका हुन् । यसमा व्यक्तिले बिहानको तुलनामा राति अभ्यास गर्दा थोरै अक्सिजन मात्र प्रयोग गर्ने गरेको पाइयो, अर्थात उनीहरुको शरीरले त्यस समयमा अझ प्रभावकारी तरिकाले व्यायाम गरिरहेको थियो । त्यस्तै दोस्रो अध्ययन टोलीले पनि पहिले मुसालाई नै ट्रेडमिलमा राखेर अध्ययन गरेका हुन् । यसमा व्यायामको समय र मांसेपसीबीचको सम्बन्धलाई पनि ध्यानमा राखिएको थियो ।

यसक्रममा हाम्रो शरीरमा ‘हाइपोक्सिया–इन्ड्युसिबल फ्याक्टर १–अल्फा (HIF-1α) नामक एक किसिमको प्रोटिन एक्सरसाइजको समयका हिसाबले सक्रिय हुने गरेको पाइएको हो ।यसले पनि शारीरिक सक्रियता र प्रदर्शनमा सुधार ल्याउन ठूलो भूमिका खेल्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । यसरी बेलुकी एक्सरसाइज गर्नुले विशेषगरी पाचन प्रणालीलाई बढी फाइदा पुर्याउने गरेको पत्ता लागेको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार यो तथ्य मानिसमा मात्र नभएर उज्यालोसँग संवेदनशील सबै प्राणीमा लागु हुनेछ । यस्तोमा व्यायामका लागि बिहान चाँडै उठ्नमा कठिनाइ हुनेहरुका लागि यो निकै खुसीको खबर भएको बताइएको हो । त्यसैले आफ्नो शारीरिक घडीलाई असर पार्दै जबरजस्ती बिहान उठ्नुको सट्टा बेलुकुा व्यायाम गर्दा झन धेरै फायदा हुने अध्ययनकर्ताहरु बताउँछन् । तरपनि यसलाई धेरै गम्भीर रुपमा नलिन र आफूलाई सहज हुने समयमा नियमित व्यायाम गर्नु नै सबैभन्दा उचित हुने विज्ञहरुको भनाइ छ ।