नेपाली नागरिकता लिन भारतीय लामबद्द भनी भिडियो भाइरल बनाउने नम्रता वाग्लेलाइ खोज्न गृहमन्त्रालयले दियो आदेश…(पुरा विवरण हेरी शेयर गर्नुहोस्)

जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् । नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् ।

यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,’ वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाइर्ंको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाइर्ंले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो ?’ सर्राफको जिज्ञासामा वाग्लेले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

वाग्लेको भिडियोमा फोटोकपी पसलका साहूले ‘कसैलाई नेपाली बोल्न आउँदैन, न त लेख्न नै, निःसन्देह भारतीय त हुन् नि’ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली बोल्न नआउँदैमा कोही भारतीय हुन्छ भनी सोध्दा उनी चाहिनेभन्दा बढी भाइरल भयो भन्दै पन्छिए ।

गृह मन्त्रालयले उक्त महिलालाई खोजबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उक्त भिडियोले भ्रम फैलाएको बताए । सरकारले जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेपछि सामान्य अवस्थाभन्दा बढी भीड प्रशासनमा लागेको छ ।

तर, कडाइका साथ जाँच गरेर मात्र नागरिकता वितरण गरिएको प्रशासनको दाबी छ । गलत विवरण पेस गरी छोरीको नागरिकता बनाउन खोज्दा सुदामा साहलाई आइतबार प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । गलत विवरण पेस गरी वंशजको नागरिकता लिन खोज्ने ६ जनालाई नियन्त्रण्मा लिएर कारबाही गरिएको छ ।

नागरिकता लिन आउने निवेदकका आमाबुवाको नागरिकतासहित बसोबासको प्रमाणका आधारमा नागरिकता दिने गरिएको छ । प्रजिअ भट्टराईका अनुसार जन्मका आधारमा नागरिकता लिएका सन्तानले वंशजको नागरिकताका लागि दैनिक दुई सयदेखि दुई सय ५० निवेदन दर्ता हुने गरेका छन् ।

‘पहिलो ५० जनालाई नागरिकता पाउने मिति र दर्ता नम्बर उल्लेख भएको टोकन दिन्छौं,’ उनले भने, ‘दैनिक अढाई सयसम्म दर्ता भए पनि जाँच गरी ५०/५५ ले मात्र नागरिकता पाएका छन् ।’ वडाबाट नागरिकताका लागि सिफारिस भएर आएका निवेदन सनाखत गरी दर्ता हुन्छन् । शंका लागे सर्जमिन पनि गरिन्छ । घर नहुँदा जग्गाको प्रमाण खोजिन्छ । कागजात नमिले कतिपय वडाध्यक्ष आफैं सीडीओ अफिस पुगेर सिफारिस गर्छन् । Ekantipur बाट