लिभरपुलको अपराजित यात्रामा सिटीको पूर्णविराम

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा आसिन लिभरपुललाई म्यानचेस्टर सिटीको नमिठो झट्का लागेको छ । बिहिबार सम्पन्न खेलमा लिभरपुल सिटीसँग २–१ गोलले पराजित भयो ।लिभरपुलको यो सिजनको पहिलो हार हो । 

जीतसँगै दोस्रो स्थानमा रहेको सिटीले लिभरपुलसँगको दूरी चार अंकले घटाउन सफल भएको छ । ५० अंक बनाएको सिटी उपाधि होडमा फर्किएको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक पुगेको छ ।

सिटीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई हार चखाउन घरेलु टोलीका सर्जियो एगुएरोले ४०औँ मिनेटमा गोल गरे ।

अगुएरोको गोलपछि आक्रामक देखिएको लिभरपुलले ६४औँ मिनेटमा बराबरी गोल फर्कायो । लिभरपुलका रोबर्टाे फिर्मिनोले बराबरी गोल गरेका थिए । तर, ७२ औँ मिनेटमा राहिम स्ट्रलिङको पासमा लेरोय सानेले उत्कृष्ट गोल गर्दै सिटीलाई जिततर्फ उन्मुख गराए । त्यसपछि अन्तिमसम्म लिभरपुलले गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।